विदेशमा हुनुहुन्छ भनें यूनियनसँग जोडिनुहोस्, आफ्नो अधिकारका बारेमा सचेत हुनुहोस्

Name: धनराज

मेरो जन्म पूर्वी पहाडी जिल्ला पाँचथरमा भएको हो । सन् २०१३ मा उच्च शिक्षाको लागि धरान झरेको थिएँ । लाहुरे बन्ने ईच्छा भए पनि त्यो सफल भएन । त्यसैले म अव विदेश जान्छे भनेर मेनपावर कम्पनीको खोजिमा इटहरी गएँ । मेनपावर कम्पनीको नाम के थियो भन्ने विर्सिएँ । सो मेनपावर कम्पनीको कार्यालयमा थुप्रै एजेन्टहरु थिए । ति मध्ये एकजनालाई पासपोर्ट दिएँ । पहिला बहराइनमा सेक्रेटरीको लागि अन्तर्वार्ता दिए पनि भिसा ढिला भएको कारण फेरि मैले मलेशिया जाने निर्णय गरें । त्यसका लागि प्रकृया सुरु भएपपछि एजेन्टले केहि दिनमै भिसा आउने भने । तर पनि महिनौं लाग्यो भिसा आएन । आफूले साहुसँग लिएको ऋणको व्याज बढेको बढ्यै थियो । 

दिन दिनै एजेन्टलाई फोन गरेर सोध्थें हुन्छ हुन्छ भन्थ्यो । यसरी नै करिव ३ महिना वितेपछि जसोतसो भिसा आयो भनेर काठमाडौ पठाए । काठमाडौंमा ७ दिन जति बसेपछि बल्लतल्ल मलेशियाको यात्रामा निस्कियौं । हामी १३ जना थियौं । मलेशिया पुगेपछि एयरपोर्टमा अलपत्र परियो । ४८ घन्टासम्म कम्पनीको मान्छे लिन आएन । भोक र तिर्खाले हामी प्याक प्याक भयौं ! एजेन्टको नम्बरमा फोन लाग्न छोडिसकेको थियो । ४८ घन्टापछी कम्पनीको मान्छे लिन त आयो तर त्यो समयमा मलेसियाको एयरपोर्टमा प्रहरीले गर्ने व्यवहार साह्रै खराव थियो ।

एयरपोर्टबाट धेरै टाढा पुर्याइयो । एउटा चौरमा हामीलाई राखेर सुख्खा रोटि र पानी दिइयो । त्यहाँ पुगेपछि थाहा पाइयो हामी काम गर्न पुगेको कम्पनी त सप्लाई कम्पनी पो रहेछ । ६–७ दिन पछि काम सुरु भयो । दुई महिनामा एकपटक तलब आउँथ्यो त्यो पनि नेपालमा मेनपावर कम्पनीले भनेको आधा मात्रै । कम्पनीले लेभीको नाममा धेरै पैसा काट्ने रहेछ । करिब दुई वर्ष काम गरिसकेपछि मेरो आफ्नै दाइ पनि मलेशिया मै रोजगार गर्नुहुन्थ्यो । उहाँलाई म बारम्बार मेरो पीडा सुनाउथें । पछि उहाँले जिफन्ट भन्ने एउटा नेपाली संगठन छ त्यसले यहाँ कम्पनीद्वारा ठगिएकाहरुलाई सहयोग गर्छ भन्नू भयो । त्यही सिलसिलामा जिफन्टका संयोजकसँग भेट भयो । त्यसपछि ठगिएका हामी मिलेर कम्पनी विरुद्ध :मुद्दा दर्ता गर्ने सल्लाह भयो । तर मैले जब साथीहरूलाई यो कुरा भनें उनीहरु डराए । कम्पनीले कुट्ने पिट्ने ताल परे मारेर फ्याँकिदिनेसम्म भन्न लागे । तर म लगायत झण्डै १०–१२ जनाले भनें मुद्धा दर्ता गरायौं ।

धेरै संघर्ष पछि कम्पनीले काटेको पैसा प्रत्येक महिना फिर्ता गर्न लाग्यो ! त्यसपछि मैले अन्यायमा परेका अरु श्रमिकलाई पनि मुद्धा हाल्न प्रेरित गरें । तर कम्पनिले म विरुद्ध अर्कै रणनीति अपनायो । मलाई थाहै नदिइ मलाई नेपाल फर्काइयो । नेपाल आएपछि पनि श्रमिकहरु ठगिएको मुद्दा प्रति थाकिन । मैले हेल्प डेस्कमा बसेर विदेशमा समस्यामा परेर फर्केर आएका नेपाली श्रमिकको अधिकारका लागि काम गरें । यद्यपी मैले मलाई विदेश पठाउने मेनपावर कम्पनी विरुद्ध भनें मुद्धा हाल्न सकिन । म्याद कटिसकेको थियो ।

साथिहरु, मैले छानेको मेनपावर गलत थियो । पहिलो पल्ट भएको कारण राम्रो मेनपावर छनौट गर्न सकिन र विदेशी भूमिमा नराम्रोसँग ठगिन पुगें । ठगिए पनि हिम्मत हारिन, मुद्धा लडेर भएपनि मैले ठगिएको रकम फिर्ता लिन सफल भएँ । अरु केहि साथिहरुलाई पनि रकम दिलाउन सफल भएँ ।

अब नयाँ रोजगारीमा जान लागेकाहरुलाई म यो सल्लाह दिन चाहन्छु कि आफु जानू भन्दा पहिला उक्त देश र कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्रै अगाडी बढ्नुहोला । आफू जाने कम्पनीले आफै काम दिने हो कि सप्लायर्स हो बुझ्नुहोला । विदेशमा धेरै संघ संस्थाहरु छन जो नेपाली श्रमिकहरुलाई सहयोग गर्छौं भनी श्रमिकलाई नै ठग्ने गर्दछन त्यस्ताहरुलाई पहिचान गर्नुहोला । विदेशमा पनि यूनियनमा आवद्ध हुनुहोस् ता की समस्या परेको समयमा पनि काम लाग्छ । अरु अप्ठ्यारोमा परेका श्रमिक साथिहरुलाई सहयोग गर्न पनि सकिन्छ ।

(जिफन्टले आइटीयूसीसँगको साझेदारीमा सञ्चालन गरेको रिक्रुटमेण्ट एडभाइजर कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्न सफल लेख)