वैदेशिक रोजगारीमा मेरो अनुभव

Name: सुवास

नमस्कार मेरो नाम सुवास हो । म हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत छु । कतारमा यो मेरो दोश्रो कम्पनी तथा तेश्रो काम हो ।

मेरो वैदेशिक रोजगारको यात्रा सुरु भयो सन् २०१७ को फेब्रुअरी १२ मा । झापाको एक होटलमा कतारको एक सेक्यूरिटी कम्पनीको लागि सेक्युरिटी गार्डको लागि अन्तरवार्ता आयोजना गरिएको थियो । त्यसमा सहभागी भएर छनौट भएपछि मेरो यात्रा आरम्भ भयो ।

तर सुरुमा मलाई न त म्यानपावरको बारेमा जानकारी थियो न त कतारको कम्पनीको बारेमा नै जानकारी थियो । मेरो जेठो सालो जो पहिले नै कतार ३ वर्ष बसेर नेपालमा फर्केका थिए उनले नै कम्पनी राम्रो छ भनेको आधारमा मैले मेरो कागजपत्र उनको माध्यमबाट झापामा शाखा कार्यालय रहेको मेनपावर कम्पनीको कार्यालयमा पेश गरेको थिएँ । अन्तरवार्ताको दिनमात्र थाहा भयो म्यानपावर कम्पनी काठमाडौंको अर्कै कम्पनी रहेछ । खुशीको कुरा म पास भएँ । दुखको कुरा म मात्र पास भएँ सालो फेल भए । यसअघि पनि थुप्रै अन्तरवार्ता दिएको थिएँ पास पनि भएको थिएँ तर कतैबाट पनि मेरो लागि भिसा आएको थिएन । यसमा पनि खासै आशा भरोसा थिएन । करीव १ महिनामा भिसा आयो भन्ने खबर सहितको फोन त्यही कार्यालयबाट आयो अप्रिल ७ तारिकको उडान छ तुरुन्त पैसा सहित सम्पर्क राख्नु भनेर ।

मलाई स्पष्ट थाहा थियो कि कानूनी र कागजी रुपमा खाडी मूलुकमा रोजगारीका लागि आउन रु १० हजार मात्र लागत हो भनेर । तर त्यहाँ बार्गेनिङ्ग शुरु भयो । सुरु एक लाख पचास हजार देखि गरे मेनपावर कम्पनीको मान्छेले । अन्त्यमा एक लाख पैँतिस हजार तिर्न बाध्य भएँ । नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छाबाउको अनुहार भनेझैँ बल्ल बल्ल पाएको भिसा गुमाउन मन लागेन । खाडी मूलुक जान १० हजार मात्र लाग्छ भन्ने थाहा छ, त्यो भन्दा बढी मागेमा उजुरी गर्नुपर्छ भन्ने पनि थाहा छ तर मेरो बाध्यताको अगाडि केहि लागेन र एक लाख पैँतिस हजार तिर्न बाध्य भएँ ।

मेनपावर कम्पनीहरु अचम्मका हुँदा रहेछन् । मसँग १ लाख ३५ हजार असुलियो तर मलाई १० हजारको मात्र रसिद दिइयो । त्यपछि अर्को नाटक पनि गर्यो सो मेनपावर कम्पनीले । अपराधीलाइ बयान लिए जसरी “म कतारको ....... सेक्यूरिटी कम्पनीमा रु १० हजार मात्र तिरेर जाँदैछु, मेरो तलव कतारी रियाल १४०० हो” भनेर नेपाली र हिन्दी भाषामा बोल्न लगाएर भिडियो रेकर्ड गरे । त्यसपछि सबैलाई धम्कीपूर्ण भाषामा यस्तो चेतावनी दिइयो कि अव हामीसँग तिमीहरुले राजीखुसी भएर गएको भन्ने प्रमाण सुरक्षित छ कतै गएर वास्तविक तिरेको रकम भन्यौ भने आफैँ फस्नेछौ । यसरी हामीजस्ता श्रमिकलाई मेनपावर कम्पनीहरुले ठग्ने गर्दछन् । मलाई सवैकुरा थाहा थियो तर काम नपाइने डरले कतै उजुरी गर्न सकिन ।

सात सय कतारी रियाल बेसिक, दुई सय पचास रियाल खाना वापतको खर्च, चार सय पचास रियाल ओभरटायम वापतको ज्याला हुनेगरी जम्मा १४ सय रियाल तलव हुन्छ भनियो । सवै खर्च कटाएर महिनामा एक हजार रियाल बचाउँला, त्यसको नेपाली ३० हजार महिनाको हुन्छ । छ महिनामा आएको ऋण तिरिसकौँला त्यसपछि घरको ऋण बिस्तारै तिरिसकौँला र त्यहाँ गएपछि काम राम्रो भयो भने तलव पनि बढ्ला भन्ने सोचेर मैले मेनपावर कम्पनीलाई एक लाख ३५ हजार बुझाएँ ।

२०१७ को अप्रिल ८ तारिकमा कतार आइपुगें । कम्पनीमा तालिम भए पश्चात कतार आइडी नआउन्जेल रुममै बसियो । मसँग कम्प्युटरको र अंग्रेजी भाषाको थोरै ज्ञान भएकोले प्रशासनको काममा रोजगारी खुल्यो । मैले पनि आवेदन दिन पाएँ । नजानेको कुराहरु गुगल र युट्युबबाट सिक्दै गएँ । परीक्षा भयो, पास पनि भएँ । तलव पनि बढ्यो । तर अकस्मात २०२० को अगष्ट महिनामा हाम्रो कम्पनी बन्द भयो । हामी अर्को सेक्यूरिटी कम्पनीमा हस्तान्तरण भयौं । नयाँ कम्पनीमा पनि मैले डेढ वर्ष प्रशासनमै काम गरें । यहि विचमा कम्पनीमा अर्को अवसर पाएँ । यो काम पहिलेको भन्दा राम्रो र बढी तलव हुने खालको छ । म अहिले पनि त्यहि पदमा काम गर्छु ।

वव मेरो अनुभवका आधारमा वैदेशिक रोजगारको योजना बनाइरहेकाहरुलाई केहि सुझाव दिन चाहन्छु । मुख्य कुरा विदेश जाने भनेको काम गर्नलाई नै हो । त्यसो हुँदा विदेश आउनुपूर्व शारीरिक र मानसिक रुपमा आफुलाई तन्दुरुस्त राख्न सक्नुपर्दछ । किनकी शरीर स्वस्थ छ भने मात्र राम्रोसँग काम गर्न सकिन्छ । सीप सिकेर मात्र विदेश जानुपर्छ भन्ने कुरामा मेरो फरक मत रहेको छ । सीप र दक्षता हुनु राम्रो कुरा हो । नयाँ सीप सिक्न चाहने मानिसलाई विदेशमा पनि पर्याप्त अवसरहरु छन्, त्यसका लागि आफुलाई सधैँ तयार राख्नुहोस । सामान्य पदमा आएपनि आफ्नो क्षमता वृद्दि गर्ने कुरामा सधैँ अग्रसर राख्नुहोस । उदाहरणको लागि मैले होटलको तालिम लिएको थिएँ अनुभव पनि त्यसमै थियो तर अहिले सेक्युरिटी कम्पनीमा काम गर्दैछु । त्यतिबेलाको सीप यहाँ काम लागेन । म सेक्युरिटी गार्डमा आएँ, आवश्यकताको आधारमा थप सीपहरु ीवकास गर्दै गएँ । अझै धेरै बाँकी छ सिक्नलाई । भन्नुको मतलव सबैकुरा जानेर मात्र विदेश आउनुपर्छ भन्ने छैन । मेरो एकजना मित्र एउटा निर्माण कम्पनीको मजदुरको रुपमा आएका थिए । विभिन्न समयमा सेफ्टी कोर्ष गरेर अहिले त्यही कम्पनीमा सेफ्टी म्यानेजरको रुपमा काम गर्छन । त्यसैले विदेशमा आएर पनि सिकेर गर्न सकिन्छ । सीप सिक्ने अवसर छोड्नु हुन्न ।

मानसिक रुपमा आफुलाई तयार पार्नुपर्छ । दैनिक १४ घण्टा खट्न सक्छु, घरपरिवार र समय समयमा आउने चाडपर्व देखि केहीसमय टाढा रहन सक्छु भन्ने मानसिकता राख्नुपर्छ । साथै म जति बर्ष विदेश बस्छु राम्रो ज्ञान र सीप सिकेर दक्ष भएर स्वदेश फर्किएर कमाएको पैसा उचित ठाउँमा लगानी गर्नेछु भन्ने अठोट राख्नुपर्दछ ।

(जिफन्टले आइटीयूसीसँगको साझेदारीमा सञ्चालन गरेको रिक्रुटमेण्ट एडभाइजर कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा तेश्रो पुरस्कार प्राप्त गर्न सफल लेख)