परदेशको रोजगारी: अवसर पनि र चुनौति पनि

Name: अञ्जन पोखरेल

सन् १९९९ को दशक वरीपरी पर्याप्त सूचनाको माध्यम नहुँदा अघोषित बाध्यता जस्तै थियो एजेन्टको सहारा मार्फत मेनपावर कम्पनीसम्म पुग्न । अन्य कयौं पात्रजस्तै म पनि मेनपावर कम्पनीको पूर्ण विवरण थाहा नपाउनेमै पर्दथे जसको भरोसााको श्रोत भनेकै एजेन्ट मात्रै थियो । एजेन्टसँगको सम्पर्क माध्यम भने ब्यक्तिगत चिनजानबाटै हुनगयो । उनी मेनपावर कम्पनीकै सञ्चालक थिए । तर मलाई अन्य मेनपावर कम्पनीमा सिफारिस गरेको नाताले उनी एजेन्टको भूमिकामा रहे र वैदेशिक रोजगारमा जाने स्वेच्छिक तत्परताका कारण उनले मेरा लागि पथप्रदर्शकको भूमिका मात्र निर्वाह गरे । तथापि, एजेन्टले बोलेको कुराको कागजी प्रकृया पुरा गर्ने अधिकारप्राप्त निकाय भनेको फेरी पनि मेनपावर कम्पनी नै हो र कयौं आश्वासनको प्रमाणीकरण गर्ने काम उसले आफ्नै ढंगले गर्दछ ।

५ सय रियाल न्यूनतम तलव, १५० रियाल खाना वापतको रकम र १ यस रियाल अन्य गरी कुल ७५० साउदी रियालमा डिपाटमेन्ट स्टोरमा सेल्समेनको काम गर्नुपर्ने जागीरको वारेमा एजेन्टले सुरूमै भनेका थिए । एजेन्टलाई पूर्ण विश्वास गरी विदेश जाने निर्णयको उत्सुकतामा मेनपावर कम्पनीको ढोकासम्म पुग्ने दिनको पर्खाइमा बसियो ।

एजेन्टले फलानो मितिमा कम्पनीको मान्छे आउँछ अन्तरवार्ताको लागि भनेकोले त्यो दिनमा बल्ल मेनपावर कम्पनीको अफिस देखियो । कालो वर्ण, मोटो र अग्लो कद भएको अरबीले मेरो हात हेरेर क्यान यु डु हार्ड वर्क ? भनेको र मैले खेत खन्ने, गोरू जोत्ने जस्ता  मेहनतको काम गरीरहेको कुरा टुटेफुटेको अङग्रेजीमा भनेपछी उ मुसुक्क हाँंसेर मेरो कुराप्रति विश्वासभाव जनाएझैं गरी अरबी भाषामा मेनपावरको मान्छेसँग केही कुरा गरी मलाई तिमी जाउ र कम्प्युटर सिक, कम्प्युटरको ज्ञान हुन जरूरी छ भनेपछि आफु अन्तर्वार्तामा छानिएको एक किसिमको खुशी मन लिएर मेनपावर कम्पनीको अफिसबाट निस्कें । मेनपावर कम्पनीको छनोट अन्धाधुन्धमै भएपनि सरल र सहज रूपले भयो ।

आफूले छानेको मेनपावर कम्पनी ठिक वा वेठिकको यथार्थ उत्तर मेनपावर कम्पनीलाई तिर्ने भिसा/सेवा शुल्क देखि विदेशमा पुगेर प्राप्त हुने कामको स्वरूपले निर्धारण गर्ने रहेछ । सन् १९९९ तिर सरदरमा मेनपावर कम्पनीले अरूसँग लिएको शुल्क बराबर वा सो भन्दा सामान्य तलमाथी हुँदा समेत भाग्यमानी ठान्नुपर्ने प्रचलनले गर्दा पनि बिना रसिद ६५ हजार रूपैयाँ मेनपावर कम्पनीलाई बुझाएर पनि मेनपावर कम्पनीप्रति सदासयता राख्नुपर्ने विवशता थियो । तर, उसले एरपोटमा थमाएको कम्पनीको सम्झौता पत्रले “जुनै जोगी आएपनि कानै चिरेका” भनेजस्तै अन्य मेनपावर कम्पनीलेझैं उसले पनि एयरपोर्टमा सम्झौतापत्र दिने गलत प्रथालाई भने चिर्न सकेन ।

रोजगारका लागि विदेश जानु त्यो पनि स्वेच्छिक रूपमा आधारभूत आवश्यकताको परिपुर्तिसँग  सम्बन्धित भएकाले दिइने सुझावका विविध आयामहरू जोडिएका हुन्छन् । तसर्थ, रोजगारका लागि बिदेश जाने श्रमिक साथिहरुलाई निम्न तयारी, ज्ञान आर्जन वा योजनाकासाथ मात्र विदेश जान मेरो सुझाव छ :–

१.          वैदेशिक रोजगारीमा जाने सोचको विकास भएसंगै परिवारसँगको समझदारीमा योजना बनाउने ।

२.         बालबच्चाको उचित शिक्षा, हेरचाह, परिवारको स्वास्थ्य जस्ता सामाजिक मुल्यलाई कम लागतमा ब्यवस्थापन गर्नका लागि तयारी गर्ने ।

३.         पत्रपत्रिका, वेवसाइट वा रेडियो/एफएमबाट प्रकाशित/प्रसारित भएका श्रमिकको माग सम्बन्धि  सूचनाहरूको आधारमा मेनपावर कम्पनीमा सम्पर्क गर्ने ।

४.         मेनपावर कम्पनी नेपाल सरकारको कालो सूचिमा परेको वा नपरेको वैदेशीक रोजगार विभागबाट जानकारी लिने ।

५.         “फ्रि भिसा फ्रि टिकट” को नीति अनुसार कार्यान्वयन गर्ने मेनपावर कम्पनीहरूमा मात्र सम्पर्क गर्ने ।

६.         मेनपावर कम्पनीहरूलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य लिने ।

७.         आफू जान लागेको देशको रहनसहन, हावापानी, एउटा आप्रवासी श्रमिकको नाताले आफूले प्राप्त गर्ने अधिकार सम्बन्धि नीति नियमको बारेमा अध्ययन गर्ने ।

८.         आफुमा भएको दक्षता वा सीप वमोजिमको कामका लागि मात्र विदेश जान तयार हुने ।

९.         छोटो समयमा काम सिकेर आफ्नो क्षमता अभिवृद्दी गर्नसक्ने प्रकृतिको कामको लागि विदेश जानु अगावै सो कामको बारेमा पूर्ण जानकार रहने ।

१०.        वैदेशिक रोजगार वोर्ड अन्तर्गत तयार गरिएको “वैदेशिक रोजगारी” एप मोवाइलमा डाउनलोड गरी उक्त एपमा उपलब्ध सूचनाहरूको वारेमा जानकारी लिने ।

११.        कम्पनीले उपलब्ध गराउने तलब, काम वा अन्य सेवासुविधाको बारेमा पूर्ण जानकार रहने ।

१२.       आफुले स्वअध्यन गरेर बुझ्न नसक्ने भाषामा करारपत्र लेखिएको भएमा जानकार एवं विश्वासीलो व्यक्तिको सहयोग लिई सवै विवरणहरूको बारेमा स्पष्ट हुने ।

१३.        अभिमुखीकरण तालिम अनिवार्य लिने ।

१४.       पासपोट (भिषा लागेको पेज सहित), करारपत्र र जीवनबिमा जस्ता महत्वपूर्ण कागजातको प्रतिलिपि परिवारलाई छोड्ने ।

१५.       कम्पनिको वारेमा थप स्पष्ट हुन सम्बन्धित देशमा रहेका नेपाली नियोग, एनआरएनए, जिफन्ट लगायत अन्य नेपाली संघसंस्था मार्फत जानकारी लिने ।

१६.       नेपालमा आफ्नो नाममा बैंक खाता खोल्ने ।

१७.       विदेश जानुअघि वा विदेश पुगेपछी बैदेशिक रोजगारको क्षेत्रमा अविच्छिन्न आवाज उठाइरहने डिजीटल वा छापा मिडियामा प्रकाशीत हुने सामग्रीहरको निरन्तर अध्यन गरीरहने ।

१८.       विदेश पुगे पश्चात आफ्नो सम्पर्क नं तथा कामको बारेमा करारपत्र बमोजिम भएनभएको यथार्थ कुरा परिवारलाई जानकारी गराउने ।

१९.       श्रमिकले पासपोर्ट साथमै राख्न पाउने कानुन भएको मुलुकमा पासपोट आफुसंगै राख्ने, यदी कम्पनिलाई बुझाउनुपर्ने भएमा पासपोट, करारपत्र, लगाएतका कागजातहरूको प्रतिलिपि आफुसंग सुरक्षित राख्ने ।

२०.       विदेश पुगेपछी कथमकदाचित समस्या परेमा गुनासो राख्ने निकायको बारेमा जानकार रहने ।

२१.       नेपाली राजदूतावास भएका मुलुकमा दूतावासको सम्पर्कमा र नभएको देशमा एनआरएनए, जिफन्ट लगायत अन्य नेपाली संघसंस्थाको सम्पर्कमा रहने ।

२२.       करारपत्र बमोजिमको तलव तथा अन्य सेवासुविधा प्राप्त नभएमा मेनपावर कम्पनीमा जानकारी गराउने । मेनपावर कम्पनीले समस्या समाधानमा वेवास्था गरेमा नेपाली दूतावासमा जानकारी गराउने ।

२३.       कम्पनीबाट प्राप्त हुने तलब बैंकबाट मात्र परिवारको नाममा वा आफ्नो बैकखातामा पठाउने ।

२४.       कामदारले आफु कार्यरत मूलुकको कानुनले बर्जीत गरेका कुराहरू नगर्न सदैव सचेत रहने, कोही कसैको लहलहैमा नफस्ने र सदैव वैधानिक हैसियतमा रहने ।

२५.       श्रमिकले कम्पनीमा कामगर्न सुरू गरेसंगै आफ्नो स्वास्थ्य बिमा दर्ता भए नभएको बारेमा बुझ्ने ।

२६.       वैदेशिक रोजगारबाट आर्जित बचतबाट स्वदेशमा पुर्नस्थापित हुनको लागि समयमै उचित योजना बनाउने ।

२७.      काम गर्ने क्रममा दुर्घटनामा परी सामान्य घाइतेदेखि गम्भिर रूपमा अङ्गभंङ्ग भई अशक्त बनेको अवस्थामा उपयुक्त स्वास्थ्य उपचार नपाएमा दूतावास वा नेपाल सरकारको सरोकावाला निकायमा उजुरी गर्ने ।

२८.       अङ्गभङ्ग वा अशक्त भई नेपाल फर्किनु परेको खण्डमा वैदेशिक रोजगार बोर्डको सचिवालयमा नेपाल फर्केको एक बर्षभित्रमा आर्थीक सहायताको लागि निवेदन पेश गर्ने ।

२९.       वैदेशिक रोजगारमा गएका श्रमिकको करार अवधीभित्र नेपालमा निजको परिवार विरामी भएमा  रोगको प्रकृति हेरी एक पटकमा १५ हजार देखी ५० हजारसम्म उपचार खर्च बोर्डको सचिवालयले बेहोर्ने भएकाले सो बारेमा विदेश जानुअगावै जानकार रहने ।

३०.       नेपाल सरकारले वैदेशिक रोजगारमा गएका कामदारहरूको हितलाई मध्यनजर गरी वेलावखत खोलिने बचतपत्रहरूमा आफ्नो कमाइको केही हिस्सालाई बचत गर्ने ।

३१.        करारपत्रमा उल्लेख भएको समयअवधि अनुसार छुट्टी वा अन्तिम बहिर्गमन भिषा मार्फत नेपाल आउन नपाएमा दूतावास वा सरकारका अन्य सरोकारवाला निकायमा जानकारी गराउने ।

३२.       कम्पनीमा काम गर्ने अवधि पुरा गरी काम छोडेर संधैको लागि नेपाल आउने समयमा सम्बन्धित देशको कानुन बमोजिम काम गरेको अवधिको उपदान प्राप्त नभएमा दूतावासमा जानकारी गराउने ।

३३.       विदेशमा सिकेको ज्ञान, सीप र अनुभवको उचित प्रयोगको लागि राज्यका सरोकारवाला निकायहरू लगायत सो क्षेत्रसंग कृयाशील नागरीक समाज तथा संघ–संस्थासँग नियमित सम्पर्क राख्ने ।

३४.       अवसरको सही मार्ग तय गरिदिने मेनपावर कम्पनीलाई आफ्नो प्रगतिको बारेमा सगौरव जानकारी सहित धन्यवाद दिंदै सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारलाई प्रश्रय दिन उत्प्रेरणा प्रदान गर्ने ।

(जिफन्टले आइटीयूसीसँगको साझेदारीमा सञ्चालन गरेको रिक्रुटमेण्ट एडभाइजर कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा दोश्रो पुरस्कार प्राप्त गर्न सफल लेख)