बैदेशिक रोजगारका विषयमा उपलव्ध जानकारीहरुको आधारमा बैदेशिक रोजगारको क्रममा रहेका नेपाली श्रमिकलाई यी सुझावहरु प्रस्तुत गर्न सकिन्छ:    

१. १८ बर्ष उमेर नपुगेको व्यक्तिलाई बैदेशिक रोजगारमा जान अनुमति दिईएको छैन (सिजापति तथा अन्य, २०१५)

२. बैदेशिक रोजगार विभागबाट अनुमति पत्र लिएका बाहेक अन्य कुनै पनि मेनपावर कम्पनी वा व्यक्तिमा भर पर्नुहुन्न ।

३. कानूनले तोकेको भन्दा धेरै शुल्क मेनपावर कम्पनीहरुलाई दिनु हुँदैन । सरकारले गरेको "फ्रिभिसा, फ्रिटिकट"को सरकारी निर्णय अनुसार खाडीका ६ मुलुकहरुमा रोजगारीका लागि जान चाहनेहरुले सेवा शुल्कका रुपमा मेनपावर कम्पनीहरुलाई बढीमा १० हजार रुपैंयाँ भन्दा बढी तिर्नु नपर्ने व्यवस्था छ । नेपाल सरकारले मलेसिया, संयुक्त अरब ईमिरेट्स लगायतका मुलुकहरुसँग गरेको द्दिपक्षिय श्रम समझदारी अनुसार ति मुलुकमा नेपाली श्रमिक रोजगारीका लागि जाँदा लाग्ने शुल्क रोजगारदाताले नै उपलव्ध गराउनु पर्ने भएका कारण श्रमिकले शुल्क तिर्नु नपर्ने कानुनी व्यवस्था छ । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण लागत खर्च मलेसियाका रोजगारदाताले नै व्यहोर्नु पर्दछ । यसका बारेमा सजग रहनु पर्दछ ।

४. बैदेशिक रोजगारमा जान चाहने व्यक्तिले अनिवार्य रुपमा दुई दिनको पूर्वप्रस्थान अभिमूखिकरण तालिम लिनु पर्दछ । सो तालिममा आप्रवासी श्रमिकको रुपमा प्राप्त हुने अधिकार, रोजगार वा भर्ना प्रकृयामा नेपालमा वा विदेशमा समस्या परेको खण्डमा सम्पर्क गर्न सकिने निकाय आदीका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिन्छ (यसको शुल्क रु. ७०० हो )। महिलाहरुको हकमा भने तालिम लिइसकेपछि उक्त रकमको रसिद/भर्पाई देखाएर बैदेशिक रोजगार बोर्डबाट फिर्ता पाउने व्यवस्था छ ।

५. घरेलु श्रमिकका रुपमा काम गर्न जान चाहने महिलाहरुले ३० दिनको तालिम अनिवार्य रुपमा लिनु पर्दछ । नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार २४ बर्ष उमेर नपुगेका नेपाली महिला घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जान पाउँदैनन् । यसैगरी २ बर्ष भन्दा कम उमेरको बच्चा भएका महिला पनि घरेलु श्रमिकका रुपमा जान पाउँदैनन् । 

६. सरकारले अनिवार्य गरेको दुई दिनको पूर्वप्रस्थान अभिमुखिकरण तालिम सरकारबाट अनुमति प्राप्त संस्थाहरु बाहेक अन्यबाट लिनु हुँदैन ।

७. वैदेशिक रोजगारमा जाने व्यक्तिले सरकारले तोके बमोजिम जीवन बिमा तथा दुर्घटना बिमा गराउनु पर्दछ । 

८. वैदेशिक रोजगारमा जाने व्यक्तिले वैदेशिक रोजगार कल्याणकारी कोषमा सरकारले तोकेको निश्चित रकम बुझाउनु पर्दछ । वैदेशिक रोजगारको क्रममा आप्रवासी श्रमिकको अंगभंग भएमा वा गम्भीर रुपमा विरामी परेमा वा मृत्यु भएमा निजलाई वा निजको परिवारलाई सोहि कोषको रकमबाट क्षतिपूर्ति दिनका लागि उक्त कोषको परिचालन वैदेशिक रोजगार बोर्ड मार्फत हुन्छ ।

९. वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारमा जान चाहने नेपालीले नेपालकै अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । यदि कुनै अन्य विमानस्थलको प्रयोग गरेर जानुपर्ने भएमा वैदेशिक रोजगार विभागबाट त्यसको लिखित अनुमति लिनु पर्दछ (विशेष परिस्थितिका लागि मात्र अनुमति प्रदान गरिन्छ)। 

१०. वैदेशिक रोजगारमा जान का लागि अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको हुनुपर्दछ । यसरी नेपाल सरकारबाट श्रम स्वीकृति लिएका व्यक्तिहरु सरकारको नजरमा आभिलेखवध्द श्रमिकका रुपमा सूचिकृत हुन्छन् । यसरी अभिलेखवद्ध भएका श्रमिकहरुको नेपाल सरकारले प्रदान गर्ने सेवाहरुमा पहुँच रहन्न। श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएको खण्डमा अंगभंग भएको, गम्भीर विरामी परेको वा मृत्यु भएको अवस्थामा उक्त श्रमिक वा निजका परिवारले अलेखवद्ध / अनियमित भई आप्रवासी श्रमिकका लागि सरकारले प्रदान गर्ने कुनैपनि  क्षतिपूर्ति तथा सेवाहरुबाट वञ्चित हुनु पर्दछ । तपाईले आफ्नो श्रम स्वीकृतिको वैधता / मान्यताका बारेमा निम्नानुसार जानकारी लिन सक्नुहुन्छः

अनलाइन मार्फत श्रम स्वीकृति जाँच्ने तरिका: http://dofe.gov.np/new/ मा जानुहोस् । स्क्रीनको दायाँ भागमा एउटा बक्स देखिनेछ जहाँ Search by भनिएको हुन्छ । त्यहाँ आफ्नो पासपोर्ट नम्वर टाईप गरेर वा स्टीकर नम्वर टाइप गरेर खोज्नुहोस् मा क्लिक गरेपछि तपाईले खोजेको जानकारी पाउनु हुन्छ ।